वि.सं:
नेपाल संवत: ११४५ तछलाथ्व नवमी - ९
परिचयः
निकासी/पैठारीकर्ताले सामान निकासी/पैठारी गरे पश्चात भन्सार विन्दुमा गरेको घोषणाको विश्वसनीयता निजको लेखा एवं व्यापार सम्वन्धी अभिलेखको आधारमा परीक्षण गर्ने कार्यलाई भन्सार जाँचपास परीक्षण (Post Clearance Audit) भनिन्छ। अर्को शब्दमा भन्दा भन्सार कार्यालयवाट जाँचापास भएको मालवस्तु निकासी/पैठारीकर्ताले घोषणा गरे बमोजिमको मालवस्तु हो होइन, निकासी/पैठारीकर्ताले घोषणा गरे बमोजिम छ छैन, कुनै महशुल तथा करहरु असूल गर्न छुटेका छन् छैनन्, न्यून बीजकीकरण भएको छ छैन, भन्सार ऐन, नियम तथा अन्य प्रचलित कानूनको सही रुपले पालना भएको छ छैन, भनी निकासी/पैठारिकर्ताको निकासी/पैठारी सम्वन्धी कागजात, व्यापारिक अभिलेख एवं निजको लेखा/स्रेस्ताको आधारमा सम्पूर्ण पक्षहरुको जाँच गर्नु नै भन्सार जाँचपास परीक्षण हो।
नेपाल WTO को सदस्य बन्नु भन्दा अगाडि भन्सार विभागले तोकिदिएको मूल्यमा सामानको मूल्याङ्कन गरिदै आएकोमा सन् २००४ मा WTO को सदस्य राष्ट्र बन्दा जनाएको प्रतिवद्धता अनुरुप कारोवार मूल्यमा आधारित मूल्याङ्कन प्रणाली(WTO/GATT Valuation System) का सम्पूर्ण प्रावधानहरु अवलम्वन गर्नुपर्ने व्यवस्था बमोजिम उक्त प्रावधानको व्यवस्थाहरु भन्सार ऐन, २०६४मा समावेश गरी त्यसै अनुरुप कार्यान्वयन हुदै आएको छ।
नेपाल WTO र WCO को पक्ष राष्ट्र भैसकेको हुँदा व्यापार सहजीकरण एवं भन्सार सरलीकरण तथा प्रक्रियागत एकरुपता गर्ने सन्दर्भमा ती संगठनहरुले निर्दिष्ट गरेका सिद्धान्तहरुको परिपालना अनिवार्य रुपले गर्नुपर्ने हुन आउँछ।Revised KYOTO Convention ले व्यापार सहजीकरण र भन्सार सरलीकरण तथा प्रक्रियागत एकरुपता (Trade Facilitation and Customs Simplification and Harmonization) गर्ने सन्दर्भमा जारी गरेको Governing Principle मध्येको एक प्रमुख सिद्धान्त मा "Use of Risk Management and Audit Based Control" रहेको छ।कारोवारमा आधारित मूल्याङ्कन प्रणाली (WTO Valuation System) अवलम्वन गर्ने सन्दर्भमा यो पद्दति भन्सार प्रशासनको लागि अति आवश्यक र निकासी/पैठारीकर्तालाई अनुशासित बनाउने प्रभावकारी संयन्त्र हो।तसर्थ यी सबै काम प्रभावकारी रुपमा सञ्चालन गर्नको लागि यस कार्यालयको स्थापना भएको हो।यस कार्यालयको स्थापना २०६६ साल आश्विन ५ गते भएको हो। यो केन्द्रीयस्तरको कार्यालय हो। नेपालभरका कुनै पनि भन्सार कार्यालयबाट आयात/निर्यात भएका मालवस्तुको जाँचपास पछिको परीक्षणको कार्य यस कार्यालयलको कार्यक्षेत्र भित्र पर्दछ।